पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पस लामाचौरमा जारी विवाद अब समाधानतर्फ अघि बढेको छ । पटक–पटक भएको वार्तापछि क्याम्पस प्रशासनले कार्वाहीको प्रक्रिया शुरु गरेको १६ जनामध्ये १२ जना को कार्वाहीको निर्णय पुनरावलोकनका लागि डीन कार्यालयमा पठाउने र चार जना विद्यार्थीहरु पटके कार्वाहीमा परेकाले उनीहरुका बारेमा पनि केन्द्रबाट निर्णय नआउँदासम्म होस्टलमा पस्न नदिने निर्णय भएको वार्तामा सहभागी अनेरास्ववियुका अर्जुन अधिकारीले गोल्डेन न्यूज दैनिकलाई बताए । वार्ताका अर्का सहभागी नेविसंघका भानु ढकालका अनुसार अब क्याम्पसभित्र तोडफोड, आगजनी भएमा त्यस्ता घटनामा संलग्न विद्यार्थीलाई राजनीतिक आवरण बोकेको भरमा छुट नदिइने सहमति भएको छ । सोमबार दुई चरणमा भएको वार्ताले ठोस निर्णय गर्न नसकेपछि अन्ततः घटनाको छिनोफानो गर्ने जिम्मा डीन कार्यालयलाई सुम्पेको हो ।
डीन कार्यालयले गरेको निर्णय स्विकार्ने गरी मंगलबारदेखि क्याम्पसमा पठनपाठन शुरु गर्ने र आरोपितमध्ये ४ विद्यार्थीलाई क्याम्पसको छात्रावास प्रवेशमा रोक लगाइएको छ ।
छात्रा जिस्क्याएको विषयलाई लिएर उत्पन्न विवादले अग्ररूप लिएपछि अनिश्चितकालीन क्याम्पस बन्द, होस्टेल खाली गर्ने स्थिति आएपछि १९ दिनदेखि समस्या सुल्झन सकेको छैन । विद्यार्थीलई कारवाही गर्ने र नगर्ने विषयमा विवाद बढेपछि संगठनबीच झडपको श्रृङ्खला बढ्दै जाँदा क्याम्पसको भौतिक संरचनामा समेत क्षति पुगेको थियो ।वार्तामा क्याम्पस प्रमुख नारायण गौतम सहित सहायक क्याम्पस प्रमुख, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी संघसंगठनका प्रतिनिधि, सोही क्याम्पसका विद्यार्थी संगठनका प्रतिनिधिबीच वार्ता भएको थियो । त्यस्तै, वार्तामा अनेरास्ववियू, कास्कीका अध्यक्ष अर्जुन अधिकारी, नेपाल विद्यार्थी संघका नेता भानु ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अमरदिप पराजुली, अखिल छैठौंका केन्द्रीय सचिवालय सदस्य गणेश अधिकारी, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष लोकेन्द्र कार्की, अग्रगामी विद्यार्थी युनियनका अध्यक्ष विशाल राना सहभागी थिए । समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले समेत विशेष पहल गरेको वार्तामा सहभागी एक विद्यार्र्थी प्रतिनिधिले बताए ।
Post a Comment