0

गोल्डेन न्यूज संवाददाता
पोखरा ४ जेठ ।
लामो समयदेखि नेपालमा नयाँ शक्तिको बहस चलाउँदै आएका एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पोखरामा पनि सो कुरालाई जोड दिएका छन् । अहिले परिवेश अनुरुप राजनीतिक पार्टी र नेताहरु चल्न नसके नयाँ शक्तिको उदय हुने उनले बताएका छन् । पोखरामा आयोजित ‘समकालिन राजनीति, चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै उनले देशलाई अग्रगामी दिशातर्फ उन्मुख गराउन यथास्थितिका दलहरूले नसक्ने भन्दै नयाँ शक्तिको आवश्यकतामा जोड दिए । 
पोखराको आदर्श नेपाल राष्ट्रिय दैनिकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भने–‘काँग्रेस एमाले पनि कुनै बेला नयाँ शक्तिको रुपमा आएका थिए, उनीहरु पुरानो भए, त्यस पश्चात माआवादीको जन्म भयो र फेरी माओवादी पनि अब परिवर्तन हुन आवश्यक छ ।’ परिवर्तनलाई अंगाल्न नसक्ने हो भने पुनः नयाँ शक्तिको उदय हुने र पुराना शक्तिहरु पतन भएर जाने उनले दावी गरे । ‘वैज्ञानिक हिसाबले पनि समयको गतिसंगै परिवर्तन हुन आवश्यक छ ।’ डाईनोसरको विपत्तिको किस्सा जोड्दै भट्टराइले भने–‘राजनीतिक पनि समयअनुसार परिवर्तन हुन नसक्ने हो भने समाप्त भएर जान्छ ।’ नेपालका सबै राजनीतिक दलमा विचारधारात्मक, राजनीतिक कार्यदिशा, संगठनात्मक समस्याहरु रहेको उल्लेख गर्दै उनले केहि बर्ष भित्रै नयाँ शक्तिको जन्म हुने दाबी गरेका हुन् । विश्व राजनीतिक परिवेश र जनचाहना परिवर्तन भैसकेको भन्दै नेता भट्टराईले कसैको मनोगत चाहनाले पार्टी चल्न नसक्ने स्पष्ट पारे । भारतमा पछिल्लो निर्वाचनको मतपरिणाम र भाजपाले पाएको बहुमतको उदाहरण दिंदै उनले घरछिमेकमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै राजनीतिक पार्टीहरु परिवर्तन हुनुपर्ने बताए । भारतमा अहिले देखिएको जनलहरले पनि नयाँ शक्ति जनताको चाहना भएको प्रमाणित गरिदिएको छ, यसबाट नेपाली दलहरुले सिक्नुपर्नेमा जोड दिए । विकास र संवृद्धिको नाराले भारतको झण्डै साढे ६ दशकको ईतिहास तोडिएको भन्दै उनले स्पष्ट कार्ययोजना भएको नेतानै नेपाली राजनीतिमा सफल हुने बताए ।  देशलाई अािर्थक रुपमा संवृद्ध बनाउने दिशामा अबको राजनीति अघि बढ्नुपर्नेमा भट्टराईले जोड दिए । नेपालको राजनीतिक दलका नेताहरु पुरानै विचार धारामा अडिक रहेकाले केही बर्षमै राजनीतिक धु्रविकरण भई नयाँ शक्ति जन्मने स्पष्ट पारे । अर्को प्रसंगमा उनले सर्वोच्च अदालतले क्षेत्राधिकार मिचेर न्यायाधीश नियुक्तिको सिफारिस र २६ सभासद् मनोनयनमा आदेश जारी गरेको बताए । सर्वोच्चको आदेश शक्ति पृथकीकरणको सिद्धान्त विपरित रहेको भट्टराईले बताए । 
कार्यक्रममा नयाँ शक्तिको उदयको विषयमा भट्टराईले दिएको विचारप्रति एमाओवादी नेता खिमलाल देवकोटा, नेपाली काँग्रेसका नेता देवराज चालिसे, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोईराला, प्रेस काउन्सिल नेपालका सदस्य माधव शर्मा र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीव बहादुर कोईराला लगायतले  टिप्पणी गरेका थिए । टिप्पणी गर्दै उनीहरुले भट्टराईको सोँच सकारात्मक भएको उल्लेख गरे । उनीहरुले नेपाली जनता र राजनीतिक दल पनि समयसंगै परिवर्तन हुनुपर्नेमा जोड दिए ।
 कार्यक्रममा आदर्श नेपाल पत्रिकामा कार्यरत रहि योगदान पु¥याउने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा समाचार शाखाबाट सह–सम्पादक विनोद लामिछाने र रेम बिक रहेका छन् । यस्तै पत्रिका वितरण शाखाबाट वितरण प्रमुख रामु गिरीसहित नविन गिरी सम्मानित भए । विज्ञापन दाताहरुमध्ये स्वीट सेफका संचालक नारायण गिरी, अकला ईन्टेरियर र सेवा हस्पिटल सम्मानित भए । पत्रिकालाई विशिष्ट रुपमा योगदान दिए बापत तारा गिरी, ज्ञानेन्द्रबहादुर कार्की, चन्दन गिरी, नारायण बराल, हेमराज गिरी, ध्रुब पौडेल, कृष्ण गिरी, संजीवबहादुर कोईराला, गंगाप्रसाद पोखरेल, विष्णुबहादुर भट्टराई, ईन्द्र कँुवर, भानु सुवेदी, प्रेम न्यौपाने, विष्णु बहादुर बस्नेत, सन्तोष आचार्य, विश्वराज श्रेष्ठ, डण्डपाणि शर्मा, युवराज खतिवडा लगायतलाई सम्मान गरिएको थियो । पत्रिकाका प्रकाशक हेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक तारा गिरीले स्वागत, व्यवस्थापक सौगात पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सम्पादक नवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top