0


गोल्डेन न्यूज संवाददाता
पोखरा ७ जेठ ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीले निर्माण सामाग्रीको अभाव बढ्दै गएकोले कास्कीका करिब ४ सय जना निर्माण व्यवसायी र तिनमा आश्रित ठूलो संख्याका मजदूरहरुले समस्या भोग्नुपरेको जनाएको छ । संघले वर्तमान अवस्थामा निर्माण व्यवसायीले अत्यन्त कठिनाई भोग्नु परेका कारण यस्तै अवस्था रहेमा निर्माण व्यवसायीहरुले टेण्डर वहिष्कारसम्मको अवस्था आउन सक्ने चेतावनी दिएको छ । करिब एक महिनादेखि क्रसर उद्योगहरु सरकारले तय गरेको मापदण्डको विरोध गर्दै आन्दोलनमा उत्रिएपछि निर्माण व्यवसायीहरुले निर्माण सामग्री अर्थात ढुङ्गा, बालुवा, गिटी, चिप्स, बेसकोर्ष आदिको अभावमा निर्माण कार्य बन्द गर्नुपर्ने अवस्था आएको भन्दै संघले चिन्ता प्रकट गरेको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले गत वैशाख १६ गतेबाट क्रसर उद्योगहरु बन्द गरेपछि निर्माण व्यवसायीले संचालन गरेका निर्माण आयोजना समेत समयमै पूरा हुन नसक्ने अवस्थामा पुगेका छन् ।
कास्कीका निर्माण व्यवसायीका लागि विभिन्न निर्माण सामाग्री आपूर्ति गर्दै आएका करिब २५ क्रसर उद्योग रहेकोमा सरकारले बनाएको पछिल्लो मापदण्डको पूर्ण कार्यान्वयन हुने हो भने सबैजसो क्रसर उद्योग बन्द हुने अवस्था आउने भएकोले उनीहरु आन्दोलनमा छन् । संघको कास्की शाखाले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा क्रसर उद्योगीहरुको आन्दोलनका कारण निर्माण सामग्रीको अभाव भैरहेको भएपनि  सरकारले भने निर्धारित समयमा निर्माण कार्य पूरा नगरेको भन्दै निर्माण व्यवसायीबाट उल्टै जरीवाना अशुल्ने प्रयास गरेको आरोप लगाएको छ । पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष ऋषिराम गौतमले क्रसर उद्योगीको आन्दोलनका कारण ९० प्रतिशत आयोजना प्रभावित भएको र सरकार र क्रसर व्यवसायीबीच यथाशीघ्र वार्ता गरी समस्याको समाधान हुनुपर्ने र त्यसपछिमात्रै निर्माण कार्यलाई सुचारु गर्न सकिने बताए । वर्षायामको शुरुवात संगै निर्माण कार्य शुरु गर्न तथा सम्झौता अनुरुपको समयमा निर्माण कार्य सम्पन्न हुन नसक्ने भएकोले कुनैपनि व्यवसायीलाई जरिवाना तिराउने र अन्य प्रकारका शुल्क तिर्ने वाध्यात्मक अवस्था सृजना नगर्न समेत संघले सरकारी निकायलाई चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा संघका सचिव दिपेन्द्र मर्सानीले राज्यका विभिन्न निकायको वेवास्ताका कारण निर्माण व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको बताए । उनले आर्थिक वर्ष २०७०÷०७१ को जिल्ला दररेट कायम हुन नसक्नु, निर्माण सामाग्रीको मूल्य वृद्धि उच्च रहँदा पनि सम्बन्धित निकायबाट आवश्यक कदम नचादिंदा निर्माण व्यवसायीहरुलाई ठूलो मार परेको भन्दै आक्रोश पोखे । उनले भने–‘निर्माण सामाग्रीको अभावमा कास्कीकामात्र करिब ४ सय व्यवसायी र तिनमा आश्रित हजारौं मजदुरको दैनिक रोजीरोटीमा समस्या परेको छ र कास्कीमामात्र एक अर्व भन्दा बढीका आयोजनाहरू प्रभावित भएका छन् ।’ यसका साथै निर्माण सामाग्रीको अभावमा कतिपय योजना अलपत्र अवस्थामा रहेको र सम्झौता गरिएका योजना पनि शुरु हुन नसकेको भन्दै सचिव मर्सानीले योजना सम्पन्न नहुँदा सरकारी निकायहरुले जरिवाना अशुल्ने र कार्वाही गर्छन् कि भन्ने त्रास कायम रहेको स्पष्ट पारे । संघले आव २०७०÷०७१ को जिल्ला दररेट निर्धारण नभएको अवस्थामा निर्माण सामाग्रीको मूल्य भने निकै बढेकोले बजार मूल्य अनुसार नै दररेट कायम गर्नुपर्नेमा जोड दिंदै यस्तै अवस्था रहिरहे सार्वजनिक निर्माणका सम्पूर्ण सेवाहरु बहिष्कार गर्ने चेतावनी दिएको छ ।

Post a Comment

 
Top