गोल्डेन न्यूज संवाददाता
पोखरा, १२ वैशाख ।
पोखरा उपमहानगरपालिकामा रहेर पनि विकट गाउँका जनताले भन्दा बढी खानेपानीको हाहाकारबाट जीवन विताइरहेका वडा नं. १४ मझेरीपाटनका जनता अब तीन महिनापछि भने केही राहत पाउने आशामा छन् ।
नेपाल खानेपानी संस्थानले जोडिदिएका खानेपानीका धारामा महिनामा दुई दिन मात्र पानी आउने, अरू दिन कहिले विजयपुर खोला, कहिले खहरे खोलाका मूल त कहिले नहरको पानी खान बाध्य यस वडावासीले दिक्क भएर स्थानीयस्तरबाटै स्रोत जुटाएर खानेपानीको योजना सुरु गरेका छन् ।खानेपानी संस्थानले ठूलो योजना नबनेसम्म सो ठाउँमा खानेपानी उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि बाध्य भएर वडावासीले प्रत्येक घरधुरीबाट रु. २२ हजार उठाएर विजयपुर खोलाको किनारमा रहेको मूलको पानी ल्याउन पहल थालेका हुन् ।
करिब रु.८० लाखको लागतमा निर्माण हुन लागेको उक्त योजनाअन्तर्गत हाल पानीको मूल भएको ठाउँमा २२ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिसकिएको र आगामी असार मसान्तभित्रमा वडावासीलाई पानी खुवाउने मझेरी खानेपानी योजनाका अध्यक्ष वटुककृष्ण कुँवरले बताए ।
मूल नजिक रहेको ट्याङ्कीमा जम्मा भएको पानीलाई मोटरबाट तानेर एक हजार ४०० मिटर लामो पाइपबाट वडा नं. १४ को वडा कार्यालयनजिक बनाइने दुई लाख १० हजार लिटर क्षमताको पानी ट्याङ्कीमा जम्मा गर्ने र त्यहाँबाट सबै वडावासीलाई मूलको स्वच्छ खानेपानी चौबिसै घण्टा वितरण गरिने योजनाका सदस्य किरण पौडेले जानकारी दिए ।
उक्त योजना निर्माणका लागि पोखरा उपमहानगरपालिकाले पनि करिब २३ लाख ८० हजार सहयोग गर्ने र बाँकी स्थानीय जनताबाटै व्यहोरिने बताइएको छ ।
सुुरुमा सो वडाका २५० देखि ३०० घरधुरीलाई खानेपानी वितरण गरिने र पछि माग भएमा अन्यत्र पनि वितरण गर्न सकिने बताइएको छ । प्रस्तावित पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलबाट प्रभावित त्यहाँका बासिन्दा विमानस्थलबाट पनि केही रकम पाउने आशामा रहेका मझेरी खानेपानी योजनाका पदाधिकारीहरू बताउँछन् ।
Post a Comment