0
१० चैत, काठमाडौं । मलेसियाको प्रोटास्को बरहार्ड ग्रुपले नेपालमा इञ्जिनियरिङ ल्याब र बुटिक होटलमा लगानी गर्ने भएको छ । नेपालमा रहेको हिमालयन विल्डर्ससँगको साझेदारीमा ग्रुपले लगानी भित्राउन लागेको हो ।  नेपालमा इञ्जिनियरिङ ल्याब र बुटिक होटल खोल्न प्रोटास्को बरहार्ड र हिमालयन विल्डर्सवीच सोमबार सम्झौता भएको छ । राजधानीको हायत होटलमा आयोजित नेपाल बिजनेश सम्मेलनमा भएको सम्झौतमा प्रोटास्को ग्रुपका निर्देशक दातो सेरी इब्राहिम र हिमालयन बिल्डर्सका अध्यक्ष जनकदत्त खनालले संयुक्त हस्ताक्षर गरे ।  प्रोटास्को र हिमालयन विल्डर्सवीच नेपालमा तीनवटा प्रोजेक्ट सञ्चालन गर्ने सम्झौता भएको छ । दुई कम्पनीवीच नेपालमा अन्तर्राष्ट्रिय स्तरको इञ्जिनियरिङ ल्याब स्थापना गर्ने, अन्तर्राष्ट्रिय स्तरकै बुटिक होटल सञ्चालन गर्ने र इन्फ्रास्टक्चर युनिभर्सिटी अफ क्वालालम्पुरमा नेपाली विद्यार्थीलाई पढ्न पठाउने विषयमा सम्झौता भएको हिमालयन विल्डर्सका अध्यक्ष खनालले अनलाइनखबरलाई बताए ।  सय मिलियन अमेरिकी डलर लगानी  खनालका अनुसार तीनवटा प्रोजेक्टमा करिव ५० देखि ६०  मिलियन अमेरिकी डलर लगानी रहने छ । ‘मलेसिया गएका बेलामा प्रोटास्को बरहार्ड ग्रुपले नेपालमा लगानी गर्न इच्झा व्यक्त गरेको थियो’ खनालले भने- ‘उसको इच्छालार्इ सम्मान गर्दै हामीले संयुक्त लगानीमा तीनवटा प्रोजेक्ट सञ्चालन गर्ने कुरा अगाडी बढाएका हौं ।’  नेपालमा स्टान्डर्ड इञ्जिनियरिङ टेस्टिङ ल्याब नभएको हुँदा नयाँ प्रविधियुक्त आधुनिक ल्याब सञ्चालनमा ल्याउन लागेको बताइएको छ । आधुनिक ल्याबको अभावमा नेपालमा पुराना मेसिन र पुरानै प्रविधि भएका ल्याबहरुबाट काम चलाउनुपर्ने बाध्यत्मक अवस्था  रहेको खनालले बताए ।  इञ्जिनियरिङ ल्याबमा करिव १० मिलियन अमेरिकन डलर लगानी हुने अनुमान गरिएको छ । भक्तपुरको सानोठिमीबाट २ किलोमिटर भित्र रहेको ७ रोपनी जग्गामा अथवा ललितपुरको हात्तिवनमा रहेको १० रोपनी जग्गामा ल्याब स्थापना गरिने खनालले जानकारी दिए । जग्गा हेर्नका लागि प्रोटास्को ग्रुप अहिले फिल्डमा जाँदै छ ।  ललितपुरको झमेलमा सञ्चालनमा ल्याउन लागिएको बुटिक होटलमा करिव ३० मिलियन अमेरिकी डलर लगानी रहने छ । नेपालमा बढ्दै गइरहेको पर्यटक संख्या र स्तरिय होटलको अभावलाई मध्यनजर गरेर बुटिक होटलको अन्तर्राष्ट्रिय चेन नेपालमा भित्राउन लागेको खनालले बताए ।  पहिलो चरणमा झमेलमा होटल सञ्चालन गर्ने योजना रहेको बताउँदै खनालले विस्तारै अन्य क्षेत्रमा विस्तार गर्दै लैजाने योजनामा रहेको सुनाए । कम्पनीले उपत्यका तथा उपत्यका बाहिर लक्जरी बुटिक होटल सञ्चालन गर्ने लक्ष्य राखेको छ । नेपालमा पर्यटकीय सम्भावना प्रशस्त रहेको हुँदा होटल क्षेत्रमा सम्भावना देखेर  लगानी गर्न लागेको उनको भनार्इ थियो ।  मलेसियामा पढ्ने अवसर  ‘नेपालको शिक्षा कितावमा मात्र सिमित भएका कारण इञ्जिनियर त उत्पादन हुने, तर बेरोजगार रहने अवस्था छ’ खनालले भने- ‘क्षमतावान इञ्जिनियर उत्पादन गर्ने उद्देश्यसहित मलेसियाको युनिभर्सिटीसँग अध्ययन सम्झौता गरिएको हो ।’  सम्झौताअनुसार नेपाली विद्यार्थीले २ वर्ष नेपाल पढेर बाँकी कोर्ष पढ्न मलेसिया जान्छु भने पनि पाउने छन, अथवा पुरै कोर्ष मलेसिया पढ्न जान्छु भने पनि पाउने भएका छन् । विद्यार्थीलाई पढाइको अवधिभर अन्तर्राष्ट्रिय स्तरका प्रोजेक्टहरुमा फिल्ड भिजिट तथा फिल्ड वर्क गराइने छ ।  प्रोटास्को बरहार्ड ग्रुप ६० वर्ष पुरानो इतिहास बोकेको कम्पनी हो । यसले मलेसियाको रोड मेन्टेनेन्समा ५० प्रतिशत काम गर्दै आइरहेको छ । साथै, कम्पनीले रियल स्टेट, बुटिक होटल, युनिभर्सिटीमा समेत लगानी गरेको छ ।  हिमालयन विल्डर्स कम्पनीले नेपाल तथा विदेशमा कन्स्ट्रक्सन र डिजाइन सम्बन्धी काम गर्दै आएको छ । यही कम्पनीले बबहरमहलमा रहेको किष्ट बैंकको हेड अफिस र सातदोबाटोमा रहेको युलेन्स स्कुल निर्माण गरेको हो ।

Post a Comment

 
Top